Skip to main content

२०८० | वार्षिक राशिफल

 वृष राशिलाई यो वर्ष केही संघर्षमय देखिए पनि सामान्य उतारचढावका साथ आंशिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। खर्चभावमा बृहस्पति र राहुको एकसाथ उपस्थितिले वर्षको पूर्वार्धमा दुर्जनको संगत, अर्थहानि, मानहानि, ऋणभार जस्ता समस्या आउनेछन्। लगानीका नाउँमा मोटो रकम खर्च भए पनि लाभ उठाउन मुस्किल पर्नेछ। यस बीचमा केतुको अनुकूल प्रभावले रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। मुद्दा–मामिलामा न्याय पाइनेछ र प्रतिस्पर्धाबाट फाइदा हुनेछ। कर्मभावमा शनिको उपस्थितिले कर्मक्षेत्रमा सक्रिय प्रभाव जमाउन बाधा पर्नेछ। जेठ ३० देखि कार्तिक १५ सम्म शनिको वक्र गतिले काम रोकिने, उधारो व्यापार, नोकरीमा समस्या, पेसा–व्यवसायमा अड्चन, सहयोगीहरूबाट धोका, आर्थिक मन्दी जस्ता समस्या आउनेछन्। हिसाबमा आम्दानी देखिए पनि व्यवहारमा कम रकम हातलागी हुनेछ। वर्षको उत्तरार्धमा राहु आयभावमा प्रवेश गर्ने र शनिको वक्रगति समाप्त हुने हुँदा स्थिति अनुकूल बन्दै जानेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम शुभारम्भ गर्न सकिनेछ। कृषि, पशुपालन, व्यापार, उद्योग तथा सेयरमा लाभ मिल्नेछ। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुन सक्छ। पेसा–व्यवसायमा उत्साहजनक उपलब्धि हासिल गर्दै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। देवगुरुको प्रभावले धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा खर्च गरिनेछ। विदेश ताक्ने हरूलाई यात्राको अवसर प्राप्त हुनेछ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन ग्रहशान्ति जप, अनुष्ठान गर्न सकिन्छ। बृहस्पतिका लागि बंगलामुखी र शिवजी तथा राहुका लागि वटुक भैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नाले फाइदा हुनेछ। काली भगवतीको पूजा र हनुमानचालीसा पाठ गर्नाले शनिदोष शान्त हुनेछ। तुलनात्मक रूपमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ।



२०८० | वार्षिक राशिफल

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

Comments